काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० की सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार बागमती र मधेश प्रदेशबाहेक अन्य सबै क्षेत्रमा प्रश्नपत्र सुरक्षित रूपमा पठाइसकिएको छ। ती दुई प्रदेशमा पनि केही दिनभित्र प्रश्नपत्र पुर्याइने उनले जानकारी दिइन्। परीक्षा नजिकिएसँगै धेरैजसो विद्यालयले विद्यार्थीलाई तयारीका लागि बिदा दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का महासचिव आरबी कटवालका अनुसार विद्यार्थीहरू घरमै बसेर तथा विद्यालयमा शिक्षकसँग समन्वय गर्दै तयारीमा जुटेका छन्।
यसपटक देशभर १ हजार ९७० परीक्षा केन्द्र तोकिएका छन् भने विदेशमा जापानमा एक केन्द्र निर्धारण गरिएको छ। सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ। यस वर्ष नियमित, ग्रेडवृद्धि (एनजी) र पुराना विद्यार्थीसमेत गरी ५ लाख ९ हजार ९६१ जना परीक्षामा सहभागी हुनेछन्। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने त्यसपछि क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुने छ।