काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा हिजोदेखि सुरु भएको छ। परीक्षा सञ्चालनका लागि कुल ५७ परीक्षा केन्द्र तोकिएका छन्। अटिजम भएका वा लेखन सहयोग आवश्यक पर्ने विद्यार्थीका लागि होम सेन्टरमा प्रश्नपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।
केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत बहिरा विद्यार्थीका लागि विशेष केन्द्र तोकिएको छ। त्यस्तै, जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय (जेलभित्र) का विद्यार्थीका लागि सोही विद्यालयमा परीक्षा सञ्चालन गरिएको छ। परीक्षा व्यवस्थापनलाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउन महानगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयहरूमा परीक्षा संचालन र प्रमाणीकरण गरिरहेको छ। यस वर्ष ४७ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। परीक्षाको पहिलो दिन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, शिक्षा विभागका प्रमुख नमराज ढकाल र प्रशासन विभागका प्रमुख महेश काफ्ले सहितको टोलीले विभिन्न परीक्षा केन्द्रको अनुगमन गरेको छ। अनुगमनपछिको संक्षिप्त प्रतिवेदनमा गुरागाईंले परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभएको छ।
परीक्षा समितिका अध्यक्ष ढकालका अनुसार यस वर्ष ४९४ विद्यालयका १९ हजार ११७ विद्यार्थी परीक्षा दिँदैछन्। यसमध्ये १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा रहेका छन्। विद्यालयको प्रकारअनुसार ७७ सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वैकल्पिक विद्यालयका ८३७ जना, ६ धार्मिक विद्यालयका ७० जना र ३९१ संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्। गत वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए भने यस वर्ष ८२३ बढी विद्यार्थी सहभागी भएका छन्। परीक्षा सञ्चालनका लागि प्रत्येक केन्द्रमा सो विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ।