सिमरा । लोटस एकेडेमीले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयले पूर्व विद्यार्थीहरूलाई औपचारिक रूपमा आमन्त्रण गर्दै आगामी पुस १९ गते भव्य समारोह आयोजना गरिने जानकारी दिएको हो।
विद्यालयद्वारा जारी सूचनाअनुसार रजत जयन्ती समारोह पुस १९ गते बिहान ११ बजेदेखि लोटस एकेडेमी प्राङ्गणमा सञ्चालन हुनेछ। सो अवसरमा पूर्व विद्यार्थी सम्मान कार्यक्रमका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिने जनाइएको छ।
विद्यालय प्रशासनले २५ वर्षको यात्रामा पूर्व विद्यार्थीहरूको योगदान, स्मृति र सफलताले संस्थाको इतिहास उज्यालो बनाएको उल्लेख गर्दै ऐतिहासिक अवसरमा पूर्व विद्यार्थीहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण र स्मरणीय बनाउने विश्वास व्यक्त गरेको छ।
सूचनामा आफ्नै शैक्षिक आँगनमा पुनः भेटघाट गर्दै पुराना स्मृतिहरू ताजा बनाउने अवसरका रूपमा कार्यक्रमलाई लिइएको उल्लेख गर्दै पूर्व विद्यार्थीहरूलाई अमूल्य समय र उपस्थितिका लागि विनम्र अनुरोध गरिएको छ।
रजत जयन्ती समारोह संयोजक तथा सह–प्रधानाध्यापक चन्द्र ब. लिम्बु र प्रधानाध्यापक राम प्रसाद अधिकारीले संयुक्त रूपमा जारी गरेको आमन्त्रण पत्रमार्फत पूर्व विद्यार्थीहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।