काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले द ब्रिटिस कलेजका संचालकविरुद्ध क्याम्पस अनुमति रद्द गर्न माग गर्दै विरोध जारी राखेको छ। संगठनले विद्यार्थीमाथि धरपकड र गिरफ्तारी भइरहेको भन्दै कडा आपत्ति जनाएको छ।
संगठनका अनुसार, कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गर्दै, अत्यधिक शुल्क लिने, फरक कोर्स पढाउने र भर्ना भएका विद्यार्थीलाई युएईमा अलपत्र पार्ने जस्ता गतिविधि गरेको छ। तर कलेज प्रशासनले भने आन्दोलनको नाममा विद्यार्थीले आर्थिक वार्गेनिङ गरेको आरोप लगाएको छ। कलेजका अनुसार, दुई विद्यार्थीले आन्दोलनको बहानामा दुई करोड रुपैयाँ माग गरेका थिए। दुबईमा इन्टर्नशिपमा रहेका विद्यार्थीलाई पनि नेपाल फर्काएर कलेजविरुद्ध बोल्न लगाइएको र रकम असुल्ने प्रयास भएको दाबी गरिएको छ। यसैबीच, आन्दोलनको नाममा रकम माग्ने आरोपमा विवेक ढकाल पक्राउ परेका छन्। कलेज प्रशासनले शिक्षा मन्त्रालयसँगको निर्देशन अनुसार काम भइरहेको र केही विवाद समाधान गरिसकेको पनि जनाएको छ।