काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेजमा देखिएको विवाद क्रमशः समाधानको दिशातर्फ अघि बढेको छ। कलेजले झुक्याएर शुल्क असुलेको तथा दुबईमा इन्टर्नसिपको नाममा श्रमिकका रूपमा पठाएको आरोप लगाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन हाल केही मत्थर बन्दै गएको देखिएको हो।
शिक्षाको नाममा आफूहरूमाथि ठगी भएको भन्दै विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत तीव्र विरोधमा उत्रिएका थिए। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कलेज प्रशासनलाई निर्देशनात्मक पत्र पठाएपछि विवाद साम्य हुँदै गएको जनाइएको छ। कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलका अनुसार मन्त्रालयको परिपत्रपछि कलेजको अवस्था सामान्य बन्दै गएको छ। मन्त्रालयले सन् २०२६ देखि टिबीसी र दुबईको एचएम कार्यक्रम बन्द गर्नुपर्ने, फाउन्डेसन इयरका कोर्सहरूको प्रचार–प्रसार गर्न नपाइनेलगायत विषयमा कडाइ गरेको छ।
यद्यपि, मन्त्रालयबाट प्राप्त बुँदागत निर्देशनमध्ये बुँदा नम्बर दुईको व्याख्यालाई लिएर कलेज प्रशासन अन्योलमा रहेको जनाएको छ। उता, आन्दोलनरत विद्यार्थीहरूले भने अझै केही माग पूरा नभएकाले निश्चित विषयमा आफ्नो अडान कायमै रहेको बताएका छन्। यसअघि शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको थियो। शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णयमार्फत ती संस्थाहरूलाई आवश्यक निर्देशन दिएका हुन्।