काठमाडौँ । कपिलवस्तु शिवराज नगरपालिका–११, सोडवास्थित रङ्गीलाल माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल गैरे निर्विरोध चयन भएका छन्। गैरे व्यवसायी, समाजसेवी तथा रोटरी क्लबका पूर्वअध्यक्ष हुन्। गैरे अध्यक्षमा सोमबार नियुक्त भएका हुन् र उनले ३ वर्षे कार्यकाल सम्हाल्नेछन्।
नवनियुक्त अध्यक्ष गैरेले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थी नियमितता, अनुशासन र सिकाइ वातावरण सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “विद्यालयको बजेट र स्रोतसाधन पारदर्शितापूर्वक प्रयोग गरिनेछ। अभिभावक, शिक्षक र स्थानीय समुदायबीच सहकार्यलाई मजबुत बनाइनेछ। सबै निर्णय नियम र सहमतिका आधारमा गरिनेछ।”
भौतिक पूर्वाधार सुधार योजनामा भवनमा रङरोगन, प्रेरणादायी लेख र चित्रकला, कार्यालय अगाडि रेलिङ, वाटर बोर्ड र नल्का क्षेत्रको सुधार, बालविकास कक्षाको सुरक्षित क्षेत्र, अलग पार्किङ लगायतका काम समावेश छन्। त्यस्तै, क्यान्टिन र खानेपानी नल्का सुधार, डस्टबिनको व्यवस्था, प्राङ्गणका रुखमा रङ्ग, कार्यालय अगाडिको ब्लक बिछ्याउने जस्ता कामका लागि आवश्यक बजेट माग गरिने अध्यक्षले जानकारी दिए। उनले विद्यार्थी अनुशासनमा ध्यान, विद्यालय पोशाक अनिवार्य र चरणबद्ध सुधार कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। सबै सरोकारवालासँग सहकार्य गर्दै रङ्गीलाल माविलाई नमुना शैक्षिक संस्था बनाउने लक्ष्यसहित उनले आफ्नो कार्य अघि बढाउने विश्वास व्यक्त गरेका छन्।