काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न प्रकारका नियन्त्रित औषधि बरामद गरिएको हो।
काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट खैरो हेरोइन २६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एक व्यक्ति नियन्त्रणमा लिइएको छ। त्यसैगरी मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित व्यक्तिहरू पक्राउ परेका छन्।तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको छ भने सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ।
यस्तै, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुई जना पक्राउ परेका छन्। मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ भने रुपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्। प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ।