काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
सोमबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट पाइपलाइनको दोस्रो चरण उद्घाटन गरेका हुन्। सोही अवसरमा उनीहरूले झापामा निर्माण गरिने नयाँ पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्याससमेत गरेका छन्। यद्यपि, सोमबार उद्घाटन गरिएको पाइपलाइनको दोस्रो चरणको निर्माण भने करिब दुई वर्षअघि नै सम्पन्न भइसकेको थियो। यसबाट सन् २०२५ फेब्रुअरीदेखि नै नियमित रूपमा पेट्रोल आयात हुँदै आएको छ। नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने उद्देश्यले निर्माण गरिएको मोतिहारी–अमलेखगन्ज पाइपलाइनको पहिलो चरण सन् २०१९ सेप्टेम्बर १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका थिए। दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यस आयोजनाबाट सुरुमा डिजेल मात्रै आयात गरिन्थ्यो।
भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म पाइपमार्फत डिजेल ल्याउन थालेपछि ट्यांकरबाट हुने ढुवानीको समय र खर्च घटेको थियो। त्यसपछि पेट्रोल तथा मट्टीतेलसमेत पाइपलाइनबाट ल्याउन सकिने गरी दोस्रो चरणको पूर्वाधार विस्तार गरिएको हो। दोस्रो चरणअन्तर्गत अमलेखगन्ज डिपोमा ४१ लाख लिटर क्षमताका पेट्रोल भण्डारण ट्यांक, मिश्रित इन्धनका लागि छुट्टै ट्यांक, २४ वटा स्वचालित ट्यांकर भर्ने प्रणाली तथा अग्नि नियन्त्रणसम्बन्धी संरचना थपिएका छन्। विस्तारपछि डिपोको डिजेल भण्डारण क्षमता २ करोड ४८ लाख ४० हजार लिटर र पेट्रोल भण्डारण क्षमता १ करोड ६६ लाख ३० हजार लिटर पुगेको छ। पाइपलाइनमार्फत इन्धन आपूर्ति गर्दा ट्यांकरको तुलनामा ढुवानी खर्च कम हुने, चुहावट तथा चोरीको जोखिम घट्ने र मिसावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।
झापामा नयाँ भण्डारण केन्द्र निर्माण हुँदै
सोमबार शिलान्यास गरिएको झापाको पेट्रोलियम टर्मिनल भारतको सिलिगुडीबाट पाइपलाइनमार्फत इन्धन ल्याएर भण्डारण गर्ने योजनाअन्तर्गत निर्माण हुन लागेको हो। यसका लागि सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो पाइपलाइन बिछ्याउने योजना छ। प्रस्तावित दूरीमध्ये ३५ किलोमिटर भारततर्फ र १५ किलोमिटर नेपालतर्फ पर्नेछ। सन् २०२६ मा सार्वजनिक वातावरणीय प्रभाव मूल्यांकन विवरणअनुसार झापामा निर्माण हुने टर्मिनलको प्रारम्भिक भण्डारण क्षमता १ करोड ८९ लाख लिटर प्रस्ताव गरिएको छ। त्यहाँ ६६ लाख लिटर पेट्रोल र १ करोड २३ लाख लिटर डिजेल भण्डारण गर्न सकिने संरचना निर्माण गर्ने योजना छ। यसअघि भने ४ करोड २० लाख लिटर क्षमताको टर्मिनल बनाउने लक्ष्य सार्वजनिक गरिएको थियो। आयोजना सम्पन्न भएपछि पूर्वी नेपालका जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। हाल भारतबाट ट्यांकरमा ढुवानी हुँदै आएको इन्धनको ठूलो हिस्सा भविष्यमा पाइपलाइनमार्फत सिधै झापाको भण्डारण केन्द्रमा ल्याउन सकिनेछ।
करिब २४ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान
नेपाल र भारतबीच यी पूर्वाधार निर्माणसम्बन्धी समझदारी सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको थियो। त्यसपछि सन् २०२४ अक्टोबर ३ मा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच आयोजना कार्यान्वयनसम्बन्धी सम्झौता भएको थियो। समग्र योजनामा सिलिगुडी–झापा पाइपलाइन र झापाको भण्डारण टर्मिनलसँगै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने तथा लोथरमा अर्को पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्ने परियोजनासमेत समेटिएका छन्।
यी चारवटै परियोजनामा करिब २४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसमध्ये भारतले करिब १५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने र नेपाल आयल निगमले झन्डै ९ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने व्यवस्था छ। भारतीय अनुदानबाट दुईवटा पाइपलाइन र झापाको टर्मिनल निर्माण गरिनेछ भने चितवनको भण्डारण केन्द्रमा नेपाल आयल निगमले लगानी गर्नेछ। चितवनको लोथरमा निर्माण प्रस्ताव गरिएको भण्डारण केन्द्रको क्षमता ९ करोड लिटरभन्दा बढी हुने परियोजनाको पछिल्लो विवरणमा उल्लेख छ। नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका अधिकारीबीच हालै भएको छलफलमा पनि यी परियोजनाको कार्यान्वयन अघि बढाउने सहमति भएको थियो। हाल नेपालको पेट्रोलियम आपूर्ति भारतीय डिपो र सडकमार्ग हुँदै हुने ट्यांकर ढुवानीमा निर्भर छ। प्रस्तावित पाइपलाइन तथा भण्डारण केन्द्र निर्माण भएपछि ढुवानी खर्च घट्ने, इन्धनको भण्डारण क्षमता बढ्ने र आपूर्ति अवरुद्ध भएको अवस्थामा समेत व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।