काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय छलफल भइरहेको हो। भेटवार्तापछि दिउँसो १२ः२५ बजे विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम छ। त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त प्रेस वक्तव्य जारी गर्नेछन्। यसअघि सोमबार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरिएको थियो। त्यसपछि उनी राजघाट पुगेर पुष्पहार अर्पण गरेका थिए।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि अपराह्न ४ः५० बजे उनी स्वदेश फर्कन भारतबाट प्रस्थान गर्ने कार्यक्रम छ। आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।