काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सहकार्यमा अघि बढाइएका पाँचवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।
सोमबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका हुन्। पाँच परियोजनामध्ये चारवटाको शिलान्यास गरिएको छ भने एउटाको उद्घाटन गरिएको छ। कार्यक्रममा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ। त्यस्तै, बनबासा नाकामा एकीकृत जाँच चौकी निर्माणको काम पनि अघि बढाइएको छ।
यसैगरी, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। उक्त परियोजनामार्फत भारतबाट पाइपलाइन हुँदै पेट्रोल र मट्टितेल नेपाल ल्याउन सुरु गरिएको छ। झापाको चारआलीमा निर्माण गरिने ग्यास पाइपलाइनको पनि शिलान्यास भएको छ। साथै, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन शिलान्यास गरिएको छ।