काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले हालसम्म अनुमति पत्र प्रदान गरिएका र नवीकरण भएका शैक्षिक परामर्श सेवा/पूर्व तयारी कक्षा तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्ने संस्थाहरूलाई पुन: सम्पर्कमा आउन अनुरोध गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले
जेन्जी आन्दोलनलका क्रममा सो मन्त्रालयमा भएको आगजनी पछि सम्पूर्ण अभिलेख नष्ट भएकोले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुलाई ३५ दिन भित्र पुन: सम्पर्कमा आउन अनुरोध गरेको हो ।
मन्त्रालयले संस्था सञ्चालन अनुमति पत्र प्राप्त गरी नियमित रुपमा नवीकरण भएका शैक्षिक परामर्श सेवा/पूर्व तयारी कक्षा तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्ने संस्थाहरुले यस मन्त्रालयवाट प्रदान गरिएको संस्था सञ्चालन अनुमति पत्र एवम् पछिल्लो तीन आर्थिक वर्ष सम्मको नवीकरण पत्रको प्रतिलिपी समेत संलग्न राखी शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७९ को दफा ३(३) मा उल्लिखित कागजातहरु नोटरी पब्लिकवाट प्रमाणित गरी सो सम्बन्धी फाइल खडा गरी ३५ दिन भित्र मन्त्रालयमा पेश गर्न अनुरोध गरेको छ ।
यस्तै चालु आ.व. २०८२।०८३ मा नवीकरण गर्नुपर्ने संस्थाहरुले प्रदेश आर्थिक ऐन, २०८२ को अनुसुची १० वमोजिम नवीकरण शुल्क बुझाइ शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७९ को दफा ४(२) मा उल्लिखित कागजातहरु र नवीकरण शुल्क बुझाएको भौचर सहितको फाइल खडा गरी पेश गर्न पनि भनेको छ ।
नयाँ अनुमति पत्रका लागि यस मन्त्रालयमा निवेदन दर्ता गरेका तर अनुमति पत्र प्राप्त नगरेका संस्थाहरु समेत र अनुमति लिन इच्छुक अन्य संस्थाहरुले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७९ को अनुसूचि १ बमोजिमको निवेदन ढाँचामा सोही निर्देशिकाको दफा ३(३) मा उल्लिखित कागजातहरु र राजध भौचर सहितको फाइल खडा गरी दर्ताका लागी पेश गर्न अनुरोध गरेको हो ।
सो मन्त्रालयबाट प्रदान गरिने सेवा नियमित रुपमा प्रवाह भइरहेको पनि सूचनामा उल्लेख गरेको छ ।
