काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा सिफारिस भएका वैज्ञानिक महाविर पुनले आफूलाई कसैले पनि मन्त्री नभनिदिन आग्रह गरेका छन् । पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई नदिन र खादामाला नल्याउन समेत भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह कार्यक्रम आज दिउँसो २ बजे शीतल निवासमा निर्धारण गरिएको छ । नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो ।