टिकाराम नेपाल नेति/टेक्सास अमेरिका
विद्यार्थी भिसामा अमेरिका पुगेका सात नेपाली विद्यार्थीलाई नेपाल फर्काईएको छ । यस्तै केहि विद्यार्थी भने मानसिक सन्तुलन गुमाएर अस्पतालमा उपचाररत रहेको नेपाली समाज टेक्सासले जनाएको छ । टेक्सासको डिअफडब्लु एरियामा सडक एरियामा भेटिएका १४ जना विद्यार्थीलाई होम लेस अवस्थामा उद्दार गरेको थियोे ।
पछिल्लो समय उज्ज्वल भविष्यको खोजीमा स्टुडेन्ट भिसा लिएर अमेरिका पुगेका केही नेपाली विद्यार्थीहरूको अवस्था निकै दुःखद र नाजुक बन्दै गएको छ।
हालसालै अमेरिका, टेक्सास राज्यको डल्लस–फोर्टवर्थ क्षेत्रमा सात जना नेपाली विद्यार्थी मानसिक सन्तुलन गुमाएर स्थानीय अस्पतालमा उपचाररत रहेका छन् भने थप सात जनालाई सहयोग रकम संकलन गरेर नेपाल फर्काइएको समाचार सार्वजनिक भएको छ।
नेपाली समाज टेक्सासका युवा तथा विद्यार्थी संयोजक प्रविस श्रेष्ठले दिएको जानकारीअनुसार अमेरिका भित्र अध्ययनरत करिब ३५ सय नेपाली विद्यार्थीमध्ये केही सामाजिक रुपमा घुलमिल हुन नसक्ने, परिवारको बेवास्ता भोग्ने र व्यवहारिक जीवन–दक्षतामा कमी भएकाले समस्या गहिरिँदै गएको हो।
उनका अनुसार, धेरै विद्यार्थीहरू अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा देखिने कठिनाइ, र जागिर पाउने समस्या समाधान गर्न नसक्दा मानसिक रोगको शिकार भएका छन्।
अमेरिकामा पढाइ सजिलो छ भन्ने भ्रममा अनेक सपना बोकेर आएका विद्यार्थीहरू अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक असन्तुलनको अवस्थामा पुगेको संयोजक श्रेष्ठले जनाएका छन्।
युलेस सिटीका उपमेयर टिकाराम पौडेलले समेत नेपाली विद्यार्थीहरू मानसिक उपचारमा रहेको पुष्टि गरेका छन्। तर, बिरामी विद्यार्थीहरूको व्यक्तिगत विवरण गोपनीय राखिएको उनले स्पष्ट पारेका छन्।
विशेषज्ञहरूले भने, विदेशमा पढ्न आउने विद्यार्थीहरूले शैक्षिक तयारी मात्र नभई मानसिक तयारी, सामाजिक सीप र आर्थिक व्यवस्थापनमा समेत सक्षम हुनुपर्नेमा जोड दिएका छन्।