काठमाडौं । नेपाल शिक्षक महासंघले विगतको आन्दोलन र सहमति अनुसार शिक्षा विधेयकमा मुख्य सरोकार नसमेटिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको प्रतिनिधिमण्डलले सत्तारूढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त ध्यानाकर्षणपत्र बुझाएको हो ।
महासंघसँगको सहमतिपछि गत वैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको ९ बुँदे निर्णय अझै कार्यान्वयनमा नआएको र अर्कोतर्फ तोकिएको मितिमा प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित नभएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ । त्यतिबेला २०८२ असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गराउने लिखित प्रतिबद्धतामा सरकार र शिक्षक महासंघको तर्फबाट हस्ताक्षर भएको थियो ।
समय तालिका गुजारेर भर्खरै समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको तर प्रतिवेदन आम शिक्षक-कर्मचारीको भावना र हिजो भएका मुख्य सहमतिप्रति ध्यान नराखी तयार गरिएको महासंघले जनाएको छ ।