काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आज (भदौ ९ गते) देखि देशव्यापी आन्दोलन सुरु गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवासुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन् । गत वैशाखमा सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा उत्रिएको हो ।
महासंघले अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको सेवा, तलब तथा पद सुनिश्चितता, संस्थागत विद्यालयका शिक्षकहरूको सुरक्षा र द्वन्द्वपीडित शिक्षकको उपदान लगायतका माग राखेको छ । साथै, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी निर्णयको पनि विरोध गरेको छ ।
आन्दोलनको पहिलो चरणमा आज प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइनेछ । त्यसपछि भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ ।
अध्यक्ष सुवेदीले भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताएका छन् । उनले शिक्षकहरूको यो आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानको लडाइँ भएकोले माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।