काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनमा १४१ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थाहरुले सूचीकृत संस्थाहरूको विवरण बुझाएका छन् ।
प्रशासनले असार ८ गते एक सूचना जारी गर्दै सो संस्थाहरूलाई सूचिकृत हुन आह्वान गरेको थियो । सोही अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट सञ्चालन अनुमतिको प्रक्रिया साथै कम्पनी रजिस्ट्रार दर्ता तथा व्यवसाय दर्ता भएका १४१ मात्र संस्थाहरू सूचीकृत हुन आएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार सूचिकृत हुन नआएका संस्थाहरूको विवरण सङ्कलनको कार्य भइरहेको र केही संस्थाहरू बन्द गरिएका संस्थाहरूको विवरण केही दिन भित्र सार्वजनिक गर्ने जनाएको छ । यता नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराईले अहिले चालेको प्रशासनको यो कदम निकै प्रशंसनीय रहेको प्रतिक्रिया दिए ।
चितवनमा सञ्चालन भएकामध्ये अधिकांश शैक्षिक परामर्शदाता तथा भाषा प्रशिक्षणको रुपमा काम गर्दै आएका संस्थाहरुले कानून मिचेको पाइएकाले प्रशासनले यस्तो कदम चालेको हो ।
अवैधानिक रुपमा सञ्चालित यस्ता संस्थाहरुले मानिसहरूलाई ठगी गरेको घटना बढ्दै गएपछि जिल्लामा सञ्चालित शैक्षिक परामर्श दिने तथा भाषा सञ्चालन गर्ने संस्थालाई जिल्ला प्रशासन कार्यालयले सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो ।





