गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
पालिकाले आर्थिक वर्ष २०८२/०८३ सालको लागि प्रस्तुत नीति कार्यक्रम अनुसार शैक्षिक सत्र २०८१ को एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।
गाउँपालिकाले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ । यस्तै, ३.९९ देखि ३.९० जीपीए ल्याउने विद्यार्थीले ५१ हजार प्राप्त गर्नेछन् भने ३.८९ देखि ३.८० जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई २५ हजार पुरस्कार दिइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न र भविष्यमा अझ राम्रो नतिजा ल्याउन प्रेरणा दिन पुरस्कार योजना ल्याइएको उनले बताए । यो योजनाले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको उनको भनाइ छ ।
गाउँपालिकाले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने बताएको छ । पालिकाले ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले छत्रकोट गाउँपालिकाले विद्यालय, विद्यार्थी र समुदाय लक्षित कार्यक्रमहरूलाई थप सुदृढ गर्दै लैजाने नीति प्रस्तुत गरेको छ ।
अभियानअन्तर्गत स्थानीय सरकारका गतिविधिहरू विद्यालय तथा समुदायसम्म, र विद्यालय एवं समुदायका गतिविधिहरू गाउँपालिकासम्म प्रभावकारी रूपमा आदानप्रदान गराउने उद्देश्यले अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई मा ३.२ जीपीएभन्दा माथि नतिजा ल्याउने विद्यार्थीहरूलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।