काठमाडौँ । सरकारले आगामी वर्षमा उच्च शिक्षासम्बन्धी छाता ऐन बनाउने जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत गर्दै उच्च शिक्षासम्बन्धी छाता ऐन बनाउने जनाएका हुन् ।
उच्च शिक्षा सम्बन्धी छाता ऐन निर्माण गरी विश्वविद्यालयहरूको सञ्चालनमा एकरुपता कायम गरिने मन्त्री पौडेलले बताए । अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्ति विकास गर्न जोड दिइने उनको भनाइ छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै २०८० सालमा उच्च शिक्षासम्बन्धी छाता ऐन सम्बन्धी विधेयक तयार पारेको थियो । तर, चौतर्फी विरोध भएपछि उक्त कार्य तत्कालका लागि रोकिएको थियो भने तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै सरकारले उक्त विधेयक तत्काल थाती राखेको थियो ।