कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सीयाकी ५२ बर्षीया डल्लीदेवी चौधरी कक्षा १ मा भर्ना भएकी छन् । लालझाडी गाउँपालिका–४ की वडासदस्य समेत रहेकी चौधरीले गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन् । उनि सोही विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन् ।
सानैदेखिको विद्यालय गएर पढ्ने चाहना रहेपनि त्यो पुरा हुन नसकेको र अहिले सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्ने तर आफुले औँठा छाप लगाउनुपर्ने अवस्था आएपछि कक्षा १ मा भर्ना भएकी हुन् । पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन् ।
वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन् । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन् ।
धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनी बताउँछिन् ।अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ ।
उनका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन् ।आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नुपर्छ, वडाध्यक्ष बन्नुपर्छ भनेर अहिलेदेखिने दबाब आउन थालेको उल्लेख गर्दै उनले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मिहिनेत गर्नुपर्ने र त्यसैका लागि बढी समय दिन थालेको बताइन् । विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए ।