धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको चैतन्य पाठशालाले ‘चैतन्य टप २५ छात्रवृत्ति योजना २०८२’ घोषणा गरेको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पाठशालाले सुदूरपश्चिमका आर्थिक विपन्नता भएका २५ जना विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले सो छात्रवृत्ति योजनाको घोषणा गरेको हो । शैक्षिक सत्र २०८२ बाट पाठशालाले उच्च शिक्षा प्रदान गर्नको लागि प्लस टु पनि सञ्चालन गर्ने भएकाले ६० लाख बराबरको छात्रवृत्तिको घोषणा गरिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ विज्ञान सङ्कायमा भर्ना हुन योग्य तथा इच्छुक विद्यार्थीहरूका लागि सो छात्रवृत्ति कार्यक्रम ल्याएको हो । हरेक वर्ष प्रदान गरिने छात्रवृत्ति प्रक्रियाको लागि प्रतिस्पर्धात्मक प्रवेश परीक्षा हुने पाठशालाले जनाएको छ । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूले वर्ष भरिको मासिक शुल्क र ल्याब शुल्क निःशुल्क हुने जनाएको छ ।
यसका लागि आगामी असारको अन्तिम साता एसईईको नतिजा पश्चात् प्रवेश परीक्षाका लागि आवेदन आव्हान गरिनेछ भने सो छात्रवृत्तिले विद्यार्थीहरूमा उत्साह थप्ने आशा गरिएको पाठशालाका निर्देशक कटक बहादुर सिहँले जानकारी दिए ।
यस्तै सोही अवसरमा सचेतनामा आधारित शिक्षाका लागि चैतन्य पाठशाला र नेपाल महर्षि बैदिक फाउण्डेसनबिच द्विपक्षीय सम्झौता समेत गरिएको छ । महर्षि बैदिक फाउण्डेसनका अन्तर्राष्ट्रिय डाराईक्टर राजा किन्गस्ले, लिसले निर्देशक मीनराज अधिकारी र पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सो साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
