काठमाडौं । लगातार २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु आज (विहीबार)देखि घर फर्कर्न थालेका छन् । शिक्षा ऐन गोजीमा बोकेर मात्र घर फर्कने बताउँदै आएका शिक्षकहरु अन्ततः उधारो सम्झौता गोजीमा हालेर घर फर्कन सहमत भएका हुन् ।
आगामी असार १५ गते भित्र शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता जनाएपछि शिक्षकहरुले बुधबारदेखि आन्दोलन स्थगित समेत गरिसकेका छन् ।

लामो समयको आन्दोलनपछि बुधबार सरकार र शिक्षकहरुबीच ९ बुँदे सहमती भएको हो । उनीहरु अब विद्यालयमा फर्केर विद्यार्थीको भर्ना, कापीजाँच र १२ कक्षाको परीक्षामा सहभागी हुनेछन् ।

वार्तामा सहमति जुटेपछि त्यसलाई मन्त्रिपरिषद बैठक बसेर अनुमोदनसमेत गरिएको थियो । ९ बुँदे सहमतिमा आन्दोलनका क्रममा घाइते भएका शिक्षकको निशुल्क उपचार गर्ने, सिभिल अस्पताल बानेश्वरमा उपचार गर्दा शिक्षकले पनि निजामति कर्मचारी सरह सहुलियत पाउनेदेखि लिएर शिक्षकको तलब सुविधाहरुमा सरकारले वृद्धि गर्ने आश्वासनहरु दिइएको छ । असार १५ भित्र नयाँ शिक्षा ऐन जारी नभए अहिलेभन्दा कडा सडक आन्दोलन गर्ने शिक्षक महासंघले चेतावनी दिएको छ ।
