काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक सत्रका लागि एक करोड ७० लाख पुस्तक छपाइ तथा वितरणको कार्य जारी छ । उनले जनक शिक्षाबाट पुस्तक व्यवसायीले सबै जिल्लामा पुस्तक लगिसकेको जानकारी दिए ।
उनका अनुसार जनक शिक्षाले कक्षा तीन, पाँच र छ देखि कक्षा १२ सम्मको पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने जिम्मेवारी पाएको छ । कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी भने निजी प्रकाशकलाई दिइएको छ ।
“विषयगत पुस्तक धेरै छन् । जम्मा एक करोड ७० लाखको टार्गेट अनुसार पुस्तक छपाइ गरेर वितरण हुँदै गरेको अवस्था छ । देशभर झण्डै १४ सय पुस्तक व्यवसायी छन् । उहाँहरूले किताब उठाएर लानुहुन्छ अनि विद्यालयमा बुझाउनुहुन्छ । विद्यालयबाट उहाँहरूले भुक्तानी लिनुहुन्छ” उनले भने ।
उनले गोदाममा पुस्तक प्रशस्त रहेको र सर्वसुलभ ढङ्गले देशैभर वितरण भइरहेको बताए ।