काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई फेरि एक पटक ज्यान मार्ने धम्की आएको छ ।एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाए, जसमा सलमान खानको कारलाई बमले उडाउने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार राति अबेर पठाइएको यो सन्देशमा लेखिएको छ – “हामी सलमान खानको घरमा पस्नेछौं र उनलाई मार्नेछौं ।” मुम्बईको वरली प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत वर्ष अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो ।
लरेन्स ग्याङले यो आक्रमणको जिम्मेवारी लिएको थियो । यस घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । यी मध्ये २ जनाले जमानत पाएका छन् र एक जना अभियुक्तले आत्महत्या गरेको प्रहरीको दाबी छ ।