जुबा– दक्षिण सुडानमा झन्डै १३ लाख बालबालिकाहरु कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ ।  संयुक्त राष्ट्रसंघअन्तर्गतको युनिसेफले पाँच वर्षमुनिका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेको हो । 
‘कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई स्तनपानको आवश्यकता देखिएको छ । त्यसैगरी अन्य पौष्टिक तत्त्वहरु पनि उनीहरुलाई पर्याप्त उपलब्ध गराउनुपर्ने खाँचो छ,’ युनिसेफका एक अधिकारीले भने ।  
दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि मोहम्मद एग एयोयाले जुवाबाट जारी गरेको वक्तव्यमा कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ ।  
बालबालिकाहरुलाई अत्यावश्यक न्युनतम स्तनपानका लागि आमाहरुलाई सहयोग गर्न पनि युनिसेफले सबैलाई आग्रह गरेको छ ।– रासस