काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गरेका छन्। सभापति देउवाले भने, ‘यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ।’
सञ्चारकर्मीबाट एमसीसी विषयमा सोधिएको प्र्रश्नको जवाफमा उनले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएकाले नेपालको हित हुने एमसीसीजस्ता विषय पारित हुनपर्ने धारणा व्यक्त गरेका छन्। उनले भने, ‘यसमा विरोध गर्न हुँदैन।’ सभापति देउवाले बजेटका नाममा देशमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन्। रासस