पोखरा । झडप, आगजनी र बालबन्दी फरार हुने घटना। पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधारगृहमा यस्ता घटना पटकपटक दोहोरिँदै आएका छन्। आइतबार बिहान फेरि एक जना १७ वर्षीय बालबन्दी फरार भएपछि सुधारगृहको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
रामेछाप घर भएका थापा थरका ती बालबन्दी बिहान करिब ७ः१५ बजे सुधारगृहको पछाडिपट्टि पानी भर्ने क्रममा तारबार नाघेर भागेका हुन्। त्यतिबेला सुरक्षाका लागि प्रहरीसमेत खटिएका थिए।
सुधारगृह प्रमुख डाँसीराम रेग्मीका अनुसार प्रहरीले रोक्न खोज्दाखोज्दै उनी फरार भएका थिए। चोरीका दुईवटा मुद्दामा सुधारगृह पठाइएका उनी यसअघि पनि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा फरार भएका थिए। २०८२ पुस २४ गते भागेका उनलाई २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ गरिएको थियो। सुधारगृह फर्काइएको केही समयपछि उनी फेरि भागेका छन्।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उनको खोजीका लागि विभिन्न टोली परिचालन गरिएको छ। सिभिल प्रहरी, वडा प्रहरी कार्यालय र कुकुरसहितको प्रहरी टोली खोजीमा खटिएको छ।
यो सुधारगृहमा फरार हुने घटना पहिलोपटक भएको होइन। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बाहिरबाट हतियारधारी व्यक्ति पुगेपछि १०९ जना बालबन्दी फरार भएका थिए। सुधारगृह प्रमुखका अनुसार तीमध्ये आठ जना अझै फरार छन्।
यसअघि २०८० जेठ २३ गते पनि तीन जना बालबन्दी फरार भएका थिए। त्यस्तै, २०८० फागुन ७ गते गिलासको विषयमा सुरु भएको विवादले हिंसात्मक झडपको रूप लिँदा तीन जना घाइते भएका थिए। २०७९ साल पुस र माघमा सुधारगृहभित्रै आगजनीसमेत भएको थियो।
बालबालिकाको सुधार र पुनर्स्थापनाका लागि सञ्चालन गरिने संस्थामा यस्ता घटना दोहोरिनुले आन्तरिक सुरक्षा र व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
क्षमताभन्दा बढी बालबन्दी राख्नुपर्ने, पर्याप्त खाना तथा आवासको अभाव र सुरक्षाकर्मीको न्यून उपस्थितिजस्ता समस्या पनि सुधारगृहमा रहेको बताइन्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले समेत देशका अधिकांश कारागार तथा सुधारगृहमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको औँल्याएको छ।