कैलाली– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिकित्सकले औषधि लेख्दा प्रयोग सम्बन्धी विस्तृत जानकारी बिरामीलाई दिन जोड दिएका छन्। माया मेट्रो अस्पताल प्रालीले आजदेखि प्रयोगमा ल्याएको ‘सिटी स्क्यान’ उपकरणको शुभारम्भ गर्दै उनले विपन्न समुदायलाई सहुलियत उपचार सेवा प्रदान गर्न अस्पतालसँग आग्रह गरेका छन्।
राष्ट्रियसभाका सदस्य शेरबहादुर कुँवरले अस्पतालले भित्र्याएको उपकरणबाट स्थानीयवासी लाभान्वित हुने बताएका छन्। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिटी स्क्यान सेवा नपाएर बाटामै ज्यान गुमाउन पर्ने अवस्था अन्त्य भएको बताएका छन्।
अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले व्यावसायिक रुपमा मात्र नभई सामाजिक सेवामा पनि समर्पित रहेको बताए। करिब रु तीन करोड मूल्य बराबरको सिटी स्क्यानको उपलब्धका सँगै काठमाडाैं, भारतको बरेली, लखनऊलगायत शहरमा जानुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ। रासस