काठमाडौं– स्लिम र आकर्षक हुन खानै छोड्नुपर्छ भन्ने होइन। तर केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न भने सकिन्छ।
बाहिर खाना नखाने– बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। घरको खाना ताजा र स्वास्थ्यवर्द्धक हुन्छ भने बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ।
अल्कोहलबाट टाढै बस्ने– फिट रहन चाहनुहुन्छ भने, मदिरापानबाट टाढा रहनुहोला। रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ।
निद्रा पुग्ने गरी सुत्ने– केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन्। अनिद्रामा तपाई तनाव महसुस गर्नुहुन्छ। तनावसँग सम्बन्धित हार्माेनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ। यसले तपाईको तौल बढ्न सक्छ।
थोरै–थोरै खाइरहने– तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन।
बिस्तारै–बिस्तारै खाने– स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईले पेट भरिएको महसुस गर्नुहुनेछ। छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न।
स–साना काम गर्ने– शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ। यस्ता कामले तपाईको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन्। सरसफाइ गर्नु पनि शारीरिक अभ्यास हो।
शाकाहारी खाना खाने– मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन् जसले मोटोपनलाई सघाउँछन्। हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन्।
सही मात्रामा खाना खाने– खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ। सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ।