काठमाडौं– नेपालीहरूका लागि पुदिनाको प्रयोग कुनै नौलो कुरा होइन। यसलाई चटनी बनाउन तथा पेट खराब हुँदा वा दुख्दा पानीसँग प्रयोग गर्ने गरिन्छ। यसलाई पानीसँग मिसाएर वा जुसका रूपमा पनि प्रयोग गर्न सकिन्छ।
अनगिन्ती फाइदा भएको पुदिनामा पोटासियम, म्याग्नेसियम, क्याल्सियम, आइरन, फोस्फोरस र भिटामिन सी जस्ता पोषक तत्व हुन्छ। यसले शरीरलाई डिटक्स गरेर शुद्ध र फुर्तिलो बनाउँन मद्दत गर्दछ। छाला तथा कपालको सौन्दर्यका लागि पनि पुदिनाको महत्व ठूलो रहेको छ। यसले हाम्रो अनुहार र कपालमा देखिएका धेरै समस्याको समाधान गर्दछ र अनुहारमा निखार पनि ल्याउँछ।
कालो पोतोबाट मुक्ति– धुलो र प्रदूषणका कारण तपाईंको अनुुहारमा कालो पोतो जम्मा हुन्छ। पुदिनाको पत्ता र बेसारमा हल्का पानी मिसाएर पेस्ट तयार गर्नुहोस्। त्यसलाई अनुहारमा लगाउनुस्, १५ मिनेट पछि हातले हल्का रगड्नुस्, यसो गर्दा अनुहारमा देखिएको कालो पोतो सफा हुन्छ।
पिम्पल्सबाट मुक्ति– तपाईंको अनुहारमा पिम्पल्स आएको छ र दुखित हुनुहुन्छ भने पुदिनाको जुसमा सोडा मिसाएर लगाउनुस्, केही समयपछि चिसो पानीले धुनुहोस्, केही दिनसम्म यसो गर्नाले पिम्पल्स कम भएर जान्छ।
तनावबाट मुक्ति– पुदिनाको पातलाई पानीमा उमालेर छान्नुहोस्। त्यसपछि पिउनुहाेस्। पुदिना यस्तो जडीबुटी हो, जसमा धेरै गुण हुन्छ, पुदिना र कागती मिसाइएको पानीमा आफ्नो खुट्टा राख्नुभयो भने तनाव कम हुन्छ। त्यस्तै शरीरमा ऊर्जा मिल्छ, पुदिनामा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसले गर्दा तपाईंको खुट्टामा रहेका कीटाणुहरू मर्छन्।
गर्दन सफा राख्छ– यदि धुलो र मैलोका कारण तपाईंको गर्दन कालो भएको छ भने, पुदिना त्यसलाई सफा गर्नका लागि महत्वपूर्ण हुन्छ। तपाईंले पुदिना मिसाइएको पानीले गर्दन धुनुभयो भने यसमा चमक फर्कनेछ। यसले प्राकृतिक टोनरको काम पनि गर्दछ।
यसका लागि पुदिनाको पानीमा कटन भिजाउनुस् र गर्दनमा लगाउनुस्, केही समय राखेपछि गर्दन धुनुहोस्, दुई हप्तामा एकपटक यस्तो गर्नुभयो भने बिस्तारै तपाईको गर्दनको कालो रङ हटेर जानेछ भने, गर्दनमा पुरानो चमक फर्कनेछ।
कपाल चिलाउने समस्या– कपाल चिलाउने समस्याबाट ग्रस्त हुनुहुन्छ भने, पुदिना तपाईको लागि राम्रो विकल्प हुनसक्छ। पुदिना मिश्रित पानीले कपाल मालिस गर्नुहोस् वा धुनुहोस्, यसमा रहेको एन्टिफंगल र एन्टिब्याक्टेरियाको गुणले कपालमा रहेको इन्फेक्सनलाई कम गर्दछ। तपाईको कपालमा चाया छ भने, पुदिनाको पानीले कपाल धुन सक्नुहुन्छ। यस्ता धेरै समस्या पुदिनाले हटाउँछ।