भक्तपुर– चीनबाट फर्काइएका १ सय ७५ जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण नभएकाे पुष्टि भएकाे छ। भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राखिएका एक सय ३५ जना पुरुष र ४० जना महिलामा उकत भाइरस नभेटिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ।
डाक्टरकाे प्रतक्ष्य निगरानीमा राखिएका उनीहरूकाे नमुना परिक्षण गरिएकाे र त्यसमा कोरोनाको सङ्क्रमण नभएको पाइएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर नमुना परीक्षणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने छ।
यसैबीच चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएपछि सुरुमा डराएका स्थानीयमा अहिले त्रास हटेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी आसपासमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै चीनबाट ल्याएकाहरुमा कोरोना सङ्क्रमण नभएको बुझाएपछि अवस्था सामान्य हुन थालेको हो।