एजेन्सी– मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ| जथाभावी खानपानका कारण अस्वभाविक रूपमा रक्तचाप बढ्ने गर्दछ। जसका कारण ज्यानै जाने सम्भावना हुन्छ। त्यसैले रक्तचाप बढेको छ भने नियन्त्रण गर्नु पनि जरुरी हुन्छ। यसलाइ नियन्त्रण गर्न दुईवटा विकल्प छन् जुन जीवनशैली, खानपान परिवर्तन र औषधि सेवन।
उच्च रक्तचापको जोखिम बढेको अवस्थामा औषधि सेवनको विकल्प नै रहँदैन। उच्च रक्तचाप खराब जीवनशैली, जथाभावी खानपान र अनावश्यक विकारबाट उत्पन्न हुने समस्या हो। यस्ता विकारलाई हटाउने हो भने, रक्तचापको स्तर सन्तुलनमा राख्न पनि सकिन्छ।
रक्तचापको स्तर सन्तुलनमा राख्न ध्यान दिनुपर्ने कुराहरू
प्रशोधित खानेकुरा बन्द– हाम्रो खानपानमा अचेल प्रशोधित खानेकुरा अत्यधिक छ। प्याकेटबन्द वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन्। त्यसैले यस्ता खाद्यसामग्रीबाट परै बस्नुपर्छ।
नुनको मात्रा कम– हामी दैनिक दाल, तरकारी र अचार लगायतको माध्यमबाट नुन सेवन गरिरहेका हुन्छौँ। नुन हाम्रो लागि अत्यावश्यक तत्तव हो। तर यसको मात्रा सीमित हुनुपर्छ। खानामा सलाद एवं उसिनेको सागसब्जी बढी प्रयोग गर्नुपर्दछ भने, फलफूल सेवन उपयुक्त हुन्छ।
योग–ध्यान र व्यायाम– रक्तचापको एक कारण तनाव पनि हो, अनावश्यक तनावका कारण अरू पनि रोगले सताउँछ। शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधि छन्, त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ। योग–ध्यान यस्तो विधि हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्दछ।
यी अभ्यासले मनलाई शान्त तुल्याउँछन्, खुशी बनाउँछन्, नियमित रूपमा व्यायाम गर्ने र प्रातः भ्रमण गर्नाले पनि रक्तचाप नियन्त्रणमा आउँछ। तर यी क्रियाकलाप नियमित हुनुपर्छ।
सन्तुलित भोजन– उच्च रक्तचाप नियन्त्रण गर्न सबै पोषक तत्त्व सामेल भएको खानेकुरा लिन आवश्यक छ। मासु, दूधबाट बनेका परिकार आदिको मात्रा कम गर्नुपर्छ। रातो मासुको बदलामा कुखुरा वा माछा सेवन गर्नुपर्छ। सलाद, हरियो सागपात, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदि खानामा समावेश गर्नुपर्छ। धेरै गुलिया र धेरै तेल भएको खानेकुरा सेवन नगर्नुस्।
खानामा फाइबरको मात्रा बढाउनुपर्छ। फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन। उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटासियमको मात्रा पनि बढाउनुपर्छ। धेरै मात्रामा चाहिँ हानिकारक हुन्छ गोलभेँडा, केरा, सिमी, सुन्तला आदिमा पोटासियम पाइन्छ। हाम्रो भान्सामा पाइने मसला र तरकारीले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ। चिकित्सकको यी परामर्शमा पदार्थ सेवन गर्न सकिन्छ।
तौल नियन्त्रण– शरीरको उचाइ अनुसार तौल निर्धारण हुन्छ। त्यस अनुरुप तौल बढी छ भने नियन्त्रण गर्नुपर्छ। अतिरिक्त तौलले पनि उच्च रक्तचाप बढाउन सघाउँछ। खानपान नियन्त्रण गरेर वा शारीरिक श्रम गरेर तौल घटाउन सकिन्छ।
धूमपान र मद्यपान– धूमपान र मद्यपान पनि रक्तचाप ह्वात्तै बढाउने कारण हुन्। उच्च रक्तचाप नियन्त्रणका लागि चुरोट र मदिरा छाड्नैपर्छ।
सावधानी– उच्च रक्तचापको जोखिम बढेको अवस्थामा औषधि सेवन गर्नैपर्ने हुन्छ। कतिपयको भनाइमा औषधि सेवन गरेपछि त्यो जीवनभर छुटाउन मिल्दैन। चिकित्सकहरुका अनुसार औषधि सेवनपछि जीवनशैली र खानपानमा सर्तकता अपनाएर रक्तचाप सन्तुलित राख्न सके औषधि छाड्न सकिन्छ। तर यी सबै चिकित्सकको निगरानीमा गर्नुपर्छ। आफूखुसी औषधी खाने र छाड्ने गर्नुहुँदैन।