काठमाडौं– जटामसी एक महत्वपुर्ण जडिबुटी हो। यो एक प्ररकारको बहुमूल्य सुगन्धित औषधि पनि हो। नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्तहरू राखेको छ। अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ।
आयुर्वेदिक प्रणाली अनुसार विभिन्न महत्व रहेको जटामसी औषधीय हिसाबले एकदमै महत्वपूर्ण जडिबुटी हो। यसले शरीरलाई तागत दिने, उत्तेजना, अपस्मार, मृगी, छारे रोग, हृदय रोग, कम्पा, अजीर्ण तथा बाल सम्बन्धी आन्द्राको समस्या, पेट दुखेको उपचार, वायु शमन गर्ने, पिशाब सम्बन्धी समस्या र हैजा तथा रजश्वला सम्बन्धी समस्या समाधानको लागि जटामसी अधिक महत्वपूर्ण जडिबुटी हो। यसले मुटु तथा श्वासप्रश्वास प्रणालीलाई उत्तेजित पार्ने, सुक्ष्म जीवाणुनाशक, वायुनाशक र अल्परक्तचापीय औषधीय गुणहरु जटामशीमा पाइन्छ।
जटामशीलाई औषधीय तेल उत्पादन गर्ने अति मूल्यवान संघटकको रुपमा लिइन्छ। यसलाई मुटु रोगमा प्रयोग हुने भ्यालेरियनको विकल्पको रुपमा पनि प्रयोग गर्ने गरिन्छ। नेपाल सरकारले वन विभागको स्वीकृति लिएर नेपालभित्र प्रशोधन गरी सारतत्व वा तेल निकासी गर्न अनुमती पाए पनि जटामसीलाई विदेश निकासी गर्न प्रतिबन्ध गरेको छ।
जटामसीको पहिचानः
जमिनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरूले छोपिराखेको हुन्छ। यो सुगन्धित खालको हुन्छ। यसको स्वाद तीतो र पिरो हुन्छ। भुईंदेखि नै पलाएर आएको २० से.मी.सम्म लामो र २ से.मी. सम्म चौडा घाँसको जस्तै पात हुने यो जडिबुटी भालाको आकार र रौं नभएको खालको हुन्छ। पातको टुप्पो ढिला हुन्छ। फूलको एउटै झुप्पा हुन्छ। गुलाफी–सेतो रंगको हुन्छ। फूलमा नै भाले वा पोथी दुबै योनी पाइन्छन्।
संकलन गर्ने समयः
जटामशीलाई साउन महिनादेखि कार्तिक महिनासम्म जमिन बिस्तारै खनेर बिरुवा पलाउने केही भाग त्यही छोडी त्यसको डाँठ मात्रै टिप्ने गरिन्छ। त्यसपछि सो जरा र डाँठको माटो राम्ररी झारेर यसलाई हावामा सुकाउनु पर्छ। जसले यसमा रहेको गुण र औषधीय तत्व संरक्षण गर्छ।