एजेन्सी– कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन्।
शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय २६ पुगेको छ। त्यसमध्ये फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ। चीनमा मृत्यु हुने एक हजार ५ सय २३ मध्ये एक हजार एक सयय २३ हुबेईकै मात्रै छन्।
शुक्रबार चीनमा थप २ हजार ६ सय ४१ जनामा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको छ। जसमध्ये ६६ हजार ४ सय ९२ संक्रमित चीनकै छन्। त्यस्तै ८ हजार एक सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।
‘भयावह बन्ने अवस्था छैन’
यसैबीच संक्रमितको पछिल्लो तथ्यांकले प्रकोप भयावह बन्नेतर्फ नदेखिएको युनिभर्सिटी अफ सिड्नीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी स्टडिजका संक्रामक रोग विशेषज्ञ अदाम क्रमरादत–स्कटले बताएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चिनियाँ अधिकारीले सक्दो प्रयास गरिरहे पनि निकै ढिला र कम भएको छ,’ उनले भने।
चीनसमक्ष एकतर्फ संक्रमणलाई फैलन नदिनु चुनौती छ भने अर्कोतर्फ भाइरस नियन्त्रण गर्न। तसर्थ, उसले हुबेई र वुहानलाई विशेष ध्यान दिइरहेको छ। सहरलाई लगभग बन्द गरिएको छ र देशभरका हजारौं स्वास्थ्यकर्मीलाई त्यहाँ पठाइएको छ । यसैबीच, चिनियाँ वैज्ञानिकले कोरोना भाइरसविरुद्धको दुइटा ‘एन्टिभाइरस ड्रग’ को परीक्षण गरिरहेको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । उसका अनुसार परीक्षणका प्रारम्भिक नतिजा केही सातामै आउनेछ । वुहान अस्पतालका प्रमुखले संक्रमण भएर निको भएका बिरामीका ‘प्लाज्मा इन्फ्युजन्स’ ले सकारात्मक प्रारम्भिक नतिजा देखाएको बताएका छन्।
विश्वका विभिन्न देशले कोरोना संक्रमणपछि आत्तिएर विविध निर्णय लिएको भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ । उसले भाइरसका कारण मृत्यु हुनेको संख्यामा त्यति धेरै वृद्धि नभएको र यसले महामारीको रूप नलिएको जिकिर गरेको छ। उसले हुबेई बाहेक अन्य क्षेत्रमा भाइरस संक्रमणमा वृद्धि नभएकाले अनावश्यक हल्लाका पछाडि नलाग्न र सावधानीपूवर्क गतिविधि गर्न भनेको छ। चीनका अन्य क्षेत्रसहित विश्वका अरु देशमा पनि संक्रमणको वृद्धि दर कम भएको पनि उसले जनाएको छ ।
कहाँ कति संक्रमित?
चीन – १५२६ मृत्यु, ६४,४९२ संक्रमित
हङकङ – १ मृत्यु, ५६ संक्रमित
फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित
जापान – १ मृत्यु, २५९ संक्रमित
संक्रमित मात्रै
सिंगापुर – ६७
थाइल्याण्ड – ३३
दक्षिण कोरिया – २८
ताइवान – १८
अस्ट्रेलिया – १५
मलेसिया – १९
जर्मनी – १६
भियतनाम – १६
अमेरिका – १५
फ्रान्स – ११
मकाओ – १०
बेलायत – ९
क्यानडा – ७
यूएई – ८
इटाली – ३
भारत – ३
रुस – २
श्रीलंका – १
कम्बोडिया – १
फिनल्याण्ड – १
नेपाल – १
स्विडेन – १
स्पेन – १
बेल्जियम – १
इजिप्ट – १