काठमाडौं — हामीले प्रायजसाे औषधि सेवन गर्दा टुक्रा पारेर खाने गरेका छौं । त्यस्तै सिटामोल पाँच सय मिलिग्रामको पाइन्छ भने बच्चाहरूलाई दिँदा पनि टुक्रा पारेर ख्वाउने चलन छ।
औषधिलाई टुक्राएर खानुको सट्टा त्यही मात्राको औषधि सेवन गर्नु नै उपयुक्त हुने देखिएको छ । औषधिलाई दुई वा दुईभन्दा बढी भागमा टुक्राएर खानु धेरै घातक हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
औषधिलाई टुक्राएर खाँदा गम्भीर प्रभाव हुन सक्ने ‘जर्नल अफ एडभान्स नर्सिङ’ मा प्रकाशित अनुसन्धानले देखाएको छ। औषधिको गलत मात्रा लिनाले औषधि र विषबीच सूक्ष्म अन्तर रहन्छ। औषधिलाई बराबर गरी तोड्ने प्रयास गर्दासमेत दुई समान मात्राको बराबर भागमा तोड्न सकिरहेका हुँदैनौं ।
अनुसन्धानकर्ताका अनुसार भाचेर लिइने ३१ प्रतिशत चक्कीमा औषधिको मात्रा गलत हुन्छ। औषधिको १५ देखि २५ प्रतिशत बढी मात्रा शरीरमा पुग्ने आशंका रहन्छ।