काठमाडौं– जाडो होस् वा गर्मी, धुवा होस् वा धुलो, हामीले सधैँ आफ्नो शरीर या शरीरको छालाको हेरचाह गर्नुपर्दछ। किनकी मौसम परिर्वत सँगै हाम्रो छालामा पनि परिर्वतन आउँछ। अझ चिसोमा हाम्रो छाला धेरै फुस्रो हुने गर्छ।
जाडोमा पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्दा छालामा विभिन्न किसिमका समस्याहरु देखिन्छन्। बजारमा पाइने महँगो मोस्चराइजर प्रायः मानिसहरुसगँ किन्ने सामर्थ्य नहुन सक्छ। त्यसैले घरेलु तरिकाबाट पनि छालालाई सुख्खापन हुनबाट बचाउन सकिन्छ।
टिप्स्
– शरीरमा नरिबलको तेल, तोरीको तेल अथवा जैतुन तेल लगाएर पनि सुख्खापन कम गर्न सकिन्छ। चिलबेल्नको समस्या आउन नदिनुका लागि लुगा धोएपछि, भाँडा माझ्दा या कुनै पनि काममा चिसोपानी प्रयोग गर्दा पञ्जाको प्रयोग गर्ने। सकेसम्म चिसो समयमा धेरैबेरसम्म चिसो पानीको सम्पर्कमा नबस्ने।
– मनतातो पानीले नुहाउनु पर्दछ। चाया बढी पर्ने समस्या रहेका व्यक्तिले आफुलाई उपयुक्त हुने एन्टीडेन्ड्रफ स्याम्पुले हप्तामा कम्तिमा दुईपटक टाउको नुहाउने। नुहाउने क्रममा स्याम्पुले कपाल राम्रोसँग मसाज गरेर मात्रै पखाल्नु पर्छ।
नुहाउने साबुनको छनोटमा ख्याल गर्ने। कडा खालको साबुनको सट्टा मोस्चराइजरयुक्त साबुनको प्रयोग गर्नुपर्छ। नुहाएपछि नरम कपडाले शरीर पुस्ने, तर धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन।
- जाडोमा छाला तुलनात्मक रुपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडीलोशन लगाउने। घरबाट बाहिर निस्कँदा मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने। यी विधि अपनाएमा तपाईको छाला सधैँ चम्किलो र स्वस्थ रहन्छ।
जाडोमा पानी पनि कम पिउने गरिन्छ। सकेसम्म पानी धेरै पिउने, नभए रसिलो फलफूल तथा झोलिलो खाना बढी खाने गर्नुपर्छ। यसले छालाको सुरक्षामा सहयोग पुर्याउँछ।