काठमाडौं– मानिसको कुइनोको मासु खिइएर टेनिस एल्बो (कुइनोको मासु खिइने समस्या) हुन्छ। विशेष गरी यो समस्या टेनिस खेलाडी, खाना बनाउने तथा रङ लगाउने व्यक्तिमा बढी देखिन्छ। जोर्नीलाई चलायमान गराउने भनेको मांसपेसीले हो। हात धेरै चलाउँदा मांसपेसी खिइँदै जान्छ र दुखाइ महसुस हुन्छ।
यसको कारण
कुइनामा हड्डीको भित्री र बाहिरी भाग हुन्छ, जहाँ विभिन्न मांसपेसी टाँसिएका हुन्छन्। यो चिराले (घाउ) ले आराम पाएन र एउटै काम धेरै पटक गरियो भने घाउ ठूलो हुँदै जान्छ वा जेलिएर धेरै दुख्ने गर्छ। लामो समय दुख्ने हुँदा पछि हात कमजोर भएको महसुस गरिन्छ।
यो समस्या महिला र पुरुषमा बराबरी देखिने भए पनि नेपालमा भने घरायसी काम गर्ने ३० वर्षदेखि ५० वर्षसम्मका महिलामा बढी देखिन्छ। टेनिस खेलाडी, खाना बनाउने, चित्र बनाउने, घरमा रङ लगाउने मानिसलाई यो समस्याले बढी सताउँछ।
लक्षणहरु
१. लुगा धुँदा, सामान उचाल्दा, हात दुख्ने गर्छ।
२. औंलालाई हत्केलामाथि लैजाँदा वा सामान उचाल्दा हात दुख्छ।
३. लामो समयसम्म दुखाइ भइराख्यो भने हात कमजोर हुन्छ।
४. हात सुन्निने, रातो हुने, रङ परिवर्तन हुने।
उपचार विधि
यो समस्या एक्स–रेमा देखिँदैन, त्यसैले धेरैलाई के कारणले दुखेको हो भन्ने थाहा नै हुँदैन। यो समस्याको बारेमा बिरामीले भनेको लक्षणको आधारमा कुइनो छामेर दुखाइको कारण थाहा पाउन सक्छिन्।
दुखाइको कारण थाहा पाइसकेपछि सुरुमा दुखेको ठाउँमा सेक्न र हातलाई आराम गर्न लगाइन्छ। त्यसपछि औषधि दिएर दुखेको ठाउँभन्दा दुई औला तलतिरको भागमा टेनिस एल्बो स्पिलिन्ट लगाउन दिइन्छ। ९५ प्रतिशत बिरामीलाई सुई लगाएपछि निको हुन्छ।