एजेन्सी– गर्भधारणबाट जोगिनका लागि अहिले बजारमा धेरै किसिमका गर्भ निरोधक चक्कीहरू प्रशस्त मात्रामा पाईने गरेको छ। गर्भ रहनबाट जोगिन यी चक्कीहरू महिलाहरूका लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम पनि मानिन्छन्।
बेलायतमा गरिएको एक अध्ययनले गर्भ निरोधक चक्कीको अधिक प्रयोगले महिलाको स्वास्थ्यमा असर पुग्ने देखाएको छ। बेलायतको युनिभर्सिटीको एक अनुसन्धान टोलीले हालै गरेको एक अध्ययनअनुसार अधिक गर्भ निरोधक चक्की सेवन गर्ने महिलाहरूको लागि रोग प्रतिरोधी क्षमता घट्नुका साथै शरीरमा रोगसँग लड्नका लागि रोग प्रतिरोधी तत्त्व घट्दै जाने देखाएको छ।
१०० महिलामा गरिएको अनुसन्धानबाट महिलाहरूले नियमित गर्भ निरोधक चक्कीहरूको सेवन गर्दा गर्भपतनको समेत खतरा हुने देखाएको छ भने, भविष्यमा गर्भ नै नबस्ने खतरासमेत बढेर जाने अनुसन्धानले देखाएको छ।
गर्भ निरोधक चक्कीहरू प्रयोग गर्ने महिलामा तत्कालीन रूपमा शरीरमा विभिन्न खालका हर्मोनहरूको गडबडी हुने, स्तन सुन्निने वा कडापन आउने, महिनावारीको बेला धेरै रगत जाने, मोटोपन बढ्ने, योनिमा संक्रमण हुने, आँखाको ज्योतिमा परिवर्तन हुने तथा यौन इच्छामा कमी आउने जस्ता लक्ष्णहरु अनुसन्धानले बताएको छ।