मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा भएको आगलागीबारे छानविन गर्न गाउँपालिकाले समिति गठन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टङ्क मुक्तानले जानकारी दिए ।
समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिएको छ । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करिब रु चार करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाको अध्यक्ष मुक्तानले बताए ।
आगलागीबाट कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री र भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सो भवनमा १८ वटा कोठा छन् । त्यहाँ विद्युत् सेवा नभएकाले सोलारबाट काम हुँदै आएको थियो । रासस