काठमाडौं – लकडाउनको आज नवौँ दिन। कोरोना महामारीको संक्रमणबाट जोगिन लकडाउन आवस्यक भएपनि त्यसबाट आम जनजिवन कष्टकर बन्दै गएको छ। सरकारले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिने बाचा गर्दै आएपनि व्यवहार फरक छ।
बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव देखिन थालेको छ। बुधबार राजधानीको चावाहिल क्षेत्रमा आधा सिलिण्डर ग्यास लिन राखिएको खाली सिलिण्डरको लामै लाईन देखिन्थ्यो। ‘‘ग्यास बाँड्दैछ भन्ने थाहा पाएर लिन आएको’’, खाली सिलीण्डरको छेवैमा उभिएकी अनिता कार्की भन्छिन्, ‘‘यस्तो लामो लाईन होला भन्ने त सोचेकै थिईन।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आफ्नो वेभसाईटमार्फत खाना पकाउने ग्यास लगायतका पेट्रेलियम पदार्थको कुनै अभाव नभएको र आपूर्ती पनि नियमित भइरहेको दावी गर्दै आएपनि बजारमा भने सहज आपूर्ती भएको देखिदैन।
यसरी बजारमा अत्यावश्यक वस्तुहरुको अभाव देखिन थालेपछि आम जनता भने आक्रोशीत हुन थालेका छन। ‘‘अहिले नै त यो हालत छ, लकडाउन अझै लम्बिदै गयो भने झन के होला?’’, पाटनका स्थानिय रामकाजी शाक्यले भने, ‘‘केहि समस्या देखिनेवित्तीकै कालोबजारी शुरु भइहाल्छ।’’
यता महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवाली भने कालोबजारी नभएको दावी गर्छन्। ‘‘वितरण व्यवस्थापनमा कमजोरी भएर अभाव जस्तो देखिएको हो’’, उनले भने, ‘यस्तो अवस्थामा यो स्वभाविक पनि हो।’’ कालोबजारी भएको थाहा पाए प्रहरीले तत्काल ‘एक्सन’ लिने पनि उनले बताए।
कुनै व्यापारीले सामान लुकाएको थाहा पाए प्रहरीको फोन नम्बर १०० मा तत्काल सुचना दिन पनि उनले सर्वसाधारणलाई आग्रह गरे।