झापा– बजारमा माक्सको अभाव भइरहँदा झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको छ। उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले दैनिकरुपमा छ जनाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताइन्।
दैनिक ५ सयबढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको सिटौलाले बताइन्। सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई रु २५ भन्दाबढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिइन्। मागअनुसार थप उत्पादन बढाइने बताइएको छ।
समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफाबापतको रकम आश्रम आश्रित विपन्न तथा अनाथ बालबालिका, ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ। रासस