एजेन्सी— अस्ट्रेलियामा नेपाली भाषामा पठनपाठन शुरु भएको छ। दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेसँगै अस्ट्रेलियामा नेपाली भाषामा पढाई शुरू भएको हो।
स्रोतका अनुसार न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा राखिएको छ। यससँगै विद्यार्थीले पढ्न चाहेको खण्डमा नेपाली भाषामा पढ्न पाउने छन्। अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा समेटि अध्ययन अध्यापन गराइरहेको छ।
पछिल्लो समय अस्ट्रेलियामा नेपालीको संख्यामा वृद्धि भएसँगै नेपाली भाषालाई ऐच्छिक रुपमा समेटिएको बताइन्छ। बहुसांस्कृतिक देशका रूपमा चिनिएको अस्ट्रेलियाले यसअघि पनि अन्य देशको भाषालाई सरकारी पाठ्यक्रममा राखेको थियो।
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल तथा दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषा अध्ययन र अध्यापन शुरु गरिएको छ। नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ।
अस्ट्रेलियामा नेपाली भाषाको अध्यापन गराउन स्थायी शिक्षकसमेत तोकिएको छ। यससँगै लामो समय अस्ट्रेलियामा स्थायी सरकारी शिक्षकका रूपमा काम गरिरहेका लोक सफल पौडेललाई दक्षिण अस्ट्रेलियामा नेपाली भाषा पढाउने शिक्षकको जिम्मेवारी दिइएको छ। अस्ट्रेलियामा कक्षा ८ देखि १२ कक्षासम्म नेपाली भाषा अध्यापन गराइने गरिएको र तीन विद्यालयका माध्यमिक तहमा करिब १ सय २० विद्यार्थी नेपाली भाषा अध्ययन गरिरहेको पौडेलले जानकारी दिएका छन्।
त्यसैगरी सिड्नीका दुई विद्यालयमा भने प्राथमिक तहमा ब १ सय २० विद्यार्थी नेपाली विषय अध्ययन गरिरहेका छन्। सिड्नीका दुई विद्यालयमा नेपाली मात्र नभएर केही भारतीय, फिलिपिनोलगायत अन्य देशका विद्यार्थीले समेत ऐच्छिक रूपमा नेपाली विषय अध्ययन गरिरहेको बताइएको छ। दक्षिण अस्ट्रेलियाका तीनै विद्यालयमा भने नेपाली विद्यार्थी मात्र अध्ययनरत रहेको बताइएको छ।