मोरङ– चिकित्सकको लापरवाहीले गर्दा बिरामीको अवस्था गम्भीर बनेपछि विराटनगरको विराटनगर अस्पताल (विराट नर्सिङहोम) तनावग्रस्त बनेको छ। सामान्य प्रसूति गराएकी महिलाको चिकित्सकको लापरवाहीका कारण अवस्था गम्भीर भएपछि अस्पताल तनावग्रस्त बनेको छ।
सुनसरी दुहबी नगरपालिका–८ रनि गाँउकी २० वर्षीया रमिका कार्की घिमिरेले मंगलबार विराट मेडिकल कलेज टंकीसिनवारीमा छोरालाई जन्म दिएकी थिइन्। नर्मल प्रसूतिमार्फत् छोरा जन्माएकी महिलाको रक्तश्रावका कारण अवस्था गम्भीर बनेपछि सोही दिन दिउँसो डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको टोलीले शल्यक्रिया गरी पाठेघर फालेको थियो। तर, अवस्था थप गम्भीर भएको बताउँदै मेडिकल कलेजबाट विराट नर्सिङहोममा ल्याएर भेन्टिलेटरमा राखेको छ। मेडिकल कलेज र नर्सिङहोम डाक्टर कार्कीले नै सञ्चालन गरिरहेका छन्।
अस्पतालले बिरामीको अवस्था अति नाजुक भएपछि मृत घोषणा गरेको छैन्। तर, पीडित परिवारले भने अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै आएका छन्। नर्मल डेलिभरीबाट जन्मिएको बच्चाको अवस्था पनि गम्भीर रहेको रमिलाका श्रीमान् भूपाल घिमिरले बताए। सिकारु डाक्टरको लापरवाहीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्दै उनले चिकित्सकलाई कारवाही गर्न माग गरेका छन्।