काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै गम्भीर आपत्ति प्रकट गरेको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा शुक्रबार कार्यालय समयपछि सादा पोसाकमा आएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिन खोजेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।काउन्सिलका अनुसार पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु आपत्तिजनक छ। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि भएको यस्तो घटनाप्रति पनि काउन्सिलले चिन्ता व्यक्त गरेको छ।
समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहिता उल्लङ्घन भएको उजुरी परे त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै रहेको विज्ञप्तिमा स्मरण गराइएको छ। त्यसैले समाचार प्रकाशनकै विषयमा सिधै प्रहरी परिचालन गर्ने कार्य नगर्न काउन्सिलले सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।त्यसैगरी, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउ गर्नुको कानुनी आधार तत्काल सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए सम्बन्धित पत्रकारलाई तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि ध्यानाकर्षण गराएको छ। प्रेस स्वतन्त्रताको रक्षा र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता निरन्तर रहने काउन्सिलले जनाएको छ।