दमक– झापा, दमकका एकल महिलाहरु व्यावसायिक उद्यमशीलतामा आकर्षित भएका छन्। उनीहरुले आफ्नो सञ्जाल गठन गरी व्यावसायिक उद्यमशीलताका लागि आयमूलक काम थालेका छन्।
एकल महिला समूह, दमक बनाएर सङ्गठित भएका उनीहरु केही महीनादेखि सेनिटरी प्याड उत्पादनमा सक्रिय भएका छन्। केही समयको तालीम पछि यहाँका एकल महिला सीपमूलक उद्यमशीलतामा आकर्षित हुँदै गएका छन्। समूहमा २९ वर्ष देखि ६५ वर्षसम्मका एकल महिला आबद्ध छन्।
उमेर र अनुभवको विविधताले पनि समूहमार्फत एकअर्काका अनुभव आदानप्रदान, सीप आदानप्रदान र उद्यम सञ्चालनका लागि पनि सामूहिक भावना जागेको समूहका संयोजक सावित्रा प्रसाईंले बताउकी छिन्।
सामूहिक रुपमा सीप सिकेको र उद्यमका लागि पनि सामूहिकरुपमा अभ्यास गरिरहेको उनको भनाइ छ। हाल नगरका २४ एकल महिला यस समूहमा आबद्ध छन् तर सामूहिक कामका लागि भने आधाजसो नियमित आउँछन्।
दमक–५ की खेमकुमारी ओलीका अनुसार समूहमा आबद्ध महिलाले संयुक्तरुपमा सेनिटरी प्याड बनाउने गर्छन्। उत्पादित प्याड नगरपालिकाले खरीद गर्ने व्यवस्था गरेको उनी बताउछिन्। उत्पादित प्याडको बजारीकरण सुनिश्चित बनेपछि उहाँहरुको व्यावसायिक उद्यम प्रभावकारी बन्दै गएको हो।
संयुक्तरुपमा यसको व्यावसायिक उत्पादनमा लागेपछि त्यसबाट प्राप्त आम्दानीलाई नियमितरुपमा बचतमा समेत सञ्चित गर्न थालिएको ओली बताउछिन्। सीप र आम्दानी नभएका महिलालाई भने संयुक्तरुपमा उद्यम शुरु गरेपछि आत्मविश्वास पनि बढेको छ।
घरमा दिनभरि त्यसै बस्नुभन्दा यहाँ आएपछि सीप सिकेकाले यसैबाट आम्दानीसमेत गर्न सकिने हिम्मत बढेको दमक–१० की अम्बिका श्रेष्ठले बताईन्।
अहिले प्याड बनाइरहेको र आगामी दिनमा अन्य पोशाक बनाउनसमेत सिक्ने र यसैबाट थप आम्दानीसमेत गर्ने उहाँको योजना छ। उत्पादित प्याड बनाएको प्रतिगोटा रु ४० का दरले ज्याला पाउने नगरपालिकाले जनाएको छ।
उनीहरुले बनाएका सबै प्याड नगरपालिकाले खरीद गर्दैछ। ती प्याड खरीद गरी नगरभित्रका विद्यालयमा विद्यार्थीको उपयोगका लागि प्रदान गर्ने नगर उपप्रमुख गीता अधिकारीले बताउईन्।
बजारमा पाइने प्याड प्रयोग गरेपछि फाल्नुपर्ने र त्यो फाल्नका लागिसमेत समस्या हुने गरेको छ तर गुणस्तरीय कपडा र सिलाइबाट उत्पादन गरिएको यस प्रकारको प्याड पुनः प्रयोग गर्न मिल्ने भएकाले यसबाट छात्रालाई अध्ययनमा पनि सघाउ पुग्ने उनको भनाइ छ। गत वर्षदेखि नगरपालिका तथा केही संस्थाले समेत विद्यालयमा छात्राका लागि निःशुल्क प्याड वितरण गर्दै आएको छ।
रासस