निजगढ्– बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन्। भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ।
अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो। दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ।
आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताउछन्। सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ। विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोगस्वरूप उपलब्ध गराउँदै आएको छ।
वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करीब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा काफ्लेले बताउछन्। अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो।
विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो। (रासस)