काठमाण्डौं – नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरे।
उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराए। सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो। नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका धेरैजसो जिल्लाहरुमा अझै पनि शौचालयको पूर्ण कार्यान्वयन हुन सकेको छैन। तर, यसलाई पूर्ण सरसफाइ अभियानसँगै पूर्णता दिने ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवम् राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झालेले बताए।
कतिपय जिल्लाहरुमा सबै घरमा चर्पी नै बनाइसकिएको छैन। केही घरमा चर्पीको प्यान जडान गरेको भए पनि प्रयोगमा आएकै छैन। खोलामा ढल बगिरहेकै छ। सार्वजनिक शौचालयको अभाव त कुरै नगरौँ, आवश्यक पर्ने ठाउँमा सार्वजनिक शौचालय नै भेटिँदैन। यस्ता समस्याकै बीचमा नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतार गर्नु सरकारको हतारो र काम देखाउने प्रवृृत्ति मात्र रहेको धेरैको आरोप छ।