काठमाडौं — नेपाली औषधी उद्योग बजारमा २९ वटा औषधी उद्योग थपिने भएको छ। यी नयाँ औषधी उद्योग स्थापनाका लागि अनुमति समेत लिइसकेका औषधी व्यवस्था विभागले जनाएको छ।
अनुमति लिएकामध्ये क्यान्सरविरुद्धको औषधिदेखि सर्पले टोकेका बिरामीको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनमसम्मको उत्पादन गर्ने उद्योगहरु छन्। नेपालमा हालसम्म क्यान्सर विरुद्धको र एन्टी स्नेक भेनम औषधी उत्पादन भएको छैन।
विभागमा हालसम्म एलोपेथिकतर्फ स्वदेशी उद्योग ८५ वटा दर्ता भएका छन्। तर विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास (जिएमपी) ३७ वटा उद्योगले मात्र पाएका छन्। विभागबाट अनुमति लिएका उद्योगहरु ललितपुर, काभ्रे, धादिङ, चितवन, मकवानपुर, तनहुँ, रुपन्देही, पर्वत, बारा, धनुषा, मोरङ, सुनसरी, जनकपुरमा खुल्न लागेका हुन्।
विभागका महानिर्देशक नारायण ढकालले नयाँ र नेपालमा उत्पादन नभएका औषधी निर्माण गर्ने भन्दै उद्योगहरुले अनुमति लिएको बताएका छन्। ‘गुणस्तरीय र नयाँ औषधी नेपालमा नै उत्पादन हुँदै जाने हो, भने अरु देशसँग भर पर्नुपर्ने बाध्यता हट्ने थियो,’ उनले भने, ‘हाल ५३ वटा औषधि उद्योगहरु सञ्चालनमा रहेका छन्।’