बागलुङ– आउँदो कात्तिक ६ र ७ गते धाैलागिरीअञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ। अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन्।
दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए। ‘बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीबासीले पनि शिविरबाट लाभ लिनेछन, उनले भने, ‘दक्ष र अनुभवी चिकित्सकबाट स्तरीय सेवा प्रदान गर्दैछौँ।
‘शिविरमा दन्त, आँखा, मुटु, हाडजोर्नी, नाक, कान, घाँटी र स्त्री रोगसम्बन्धी रोगका बिरामीको निःशुल्क जाँच तथा उपचार गरिनेछ। शिविरका लागि ताइवानबाट विशेषज्ञसहित ३५ जनाभन्दा बढी स्वास्थ्यकर्मी बागलुङ आउने भएका छन्।
शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ र पोखराका विशेषज्ञ चिकित्सकले पनि ताइवानीसँग मिलेर सेवा प्रदान गर्नेछन्। शिविरमा एक सय बढी स्वास्थ्यकर्मी र २५० जना स्वयंसेवक परिचालन हुने भएका छन्। शिविर सञ्चालनमा रु सात लाख खर्च हुने अनुमान गरिएको रोटरी क्लब बागलुङका अध्यक्ष ओमप्रकाश पौडेलले बताएका छन्।
‘विभिन्न कारणले उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो’, उनले भने। शल्यक्रिया र थप उपचार गर्नुपर्ने बिरामीका लागि पनि निःशुल्क सेवाका लागि सहजीकरण गरिने आयोजकले जनाएका छन्।
रोटरी क्लबकै विशेष पहलमा ताइवानका चिकित्सक शिविरका लागि बागलुङ आउन लागेका हुन्। ताइवानका चिकित्सकले शिविरमा सेवाका अतिरिक्त केही स्वास्थ्य उपकरणसमेत अस्पताललाई उपलब्ध गराउने भएका छन्। शिविरले धाैलागिरी अञ्चल अस्पतालको सेवाप्रति सर्वसाधारणको विश्वास बढ्ने ठानिएको छ। (रासस)