काठमाडौं – बेलायतमा दमको रोगमा खाइने मोन्टेलुकास्ट नामक शक्तिशाली औषधिले आत्महत्याको सोच र दिग्भ्रमको समस्या आउन सक्छ भनी चिकित्सकहरूले रोगीलाई बताउनुपर्ने भएको छ।
बालबालिका लगायत धेरै रोगीहरूले यो औषधि खाएपछि दुःस्वप्न देखेको, जागै रहँदा पनि विचित्रका कुरा देख्ने गरेको र आत्महत्या गरूँ गरूँ जस्तो लाग्ने गरेको बताए। औषधिको ब्रान्ड नाम सिंगुलेयर हो।
कडा दम लाग्दा अनि हेफिभरसँग लड्न यो औषधि निकै प्रभावकारी हुन्छ। तर मेडिसिन्स यान्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटोरी एजेन्सीले सुरक्षा चेतावनी जारी गर्दै यस औषधिमा स्नायुमनोचिकित्साजन्य प्रतिक्रिया आउने बताएको छ।
द डेली मेलले यसको बारेमा समाचार छापेपछि धेरै मानिसले नियामक संस्थासँग सम्पर्क गरेर चिकित्सकहरूले आफूलाई यसबारेमा केही नबताएको गुनासो गरे। तर नियामक संस्थाले जोड दिँदै भन्यो, ‘मोन्टेलुकास्ट औषधि छोड्नुअघि चिकित्सकको परामर्श लिनु महत्त्वपूर्ण छ।’ त्यो किन भने औषधि च्याट्टै छोड्दा दमले च्याप्ने समस्या दोहोरिने सम्भावना हुन्छ। (एजेन्सी)