गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए।
कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उनले बताए। गाउँपालिकाभित्रका आठ वटै वडामा घरमै पुगेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको उनको भनाइ छ। धेरै ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था रहेकाले कम्तीमा महीनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर उनीहरुकोे स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पुर्याउनका लागि कार्यक्रमको थालनी गरिएको भट्टले बताए।
गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिन शुरु गरेको उहाँको भनाइ छ। हरेक वडामा ८० वर्ष माथिका कम्तीमा १ सय ५० जना ज्येष्ठ नागरिक रहेका र ती मध्येपनि आधाजति मात्र गाउँमा बसोवास गर्ने गरेकाले उनिहरू सबैमा उपचार सेवा पुर्याउन सकिने पालिकाले अपेक्षा गरेको छ।
नेपाल सरकारले तय गरेका विभिन्न राष्ट्रिय कार्यक्रमलाई असर नपर्ने गरी गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ। ‘गाउँघर क्लिनिक, खोप कार्यक्रम, पोषण कार्यक्रमलगायतका कार्यक्रमलाई प्रभाव नपर्ने गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौ।’ शाखा प्रमुख भट्टले भने, ‘घरघरमा गएर उपचार सेवा दिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरुप केही रकम गाउँपालिकाले उपलब्ध गराउछ।’ एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षण गर्न सक्ने उनले बताए। (रासस)